एकातिर राजनीतिक दलहरूको आ-आफ्नै अडानका कारण गोदियानी गाविसमा गाउँपरिषद बस्न सकिरहेको छैन । अर्कातिर माधोपुर गाविसमा सचिव विश्वनाथले दलका प्रतिनिधिहरूको चित्त बुझाई गाउँपरिषद बसाए पनि भूमिगत समुहहरूको भने चित्त बुझाउन सकिरहेका छैनन् । भूमिगत समुहबाट विश्वनाथलाई ठुलै रकम तोकेर चन्दाको लागि धम्किपूर्ण चिठी आएको छ । नाटकमा अब के होला थाहा पाउन गाविसको कथाको तेस्रो भाग सुन्नुहोस् ।
माधोपुर गाविसका सचिव विश्वनाथले सरल र द्रुत सेवालाई जोड दिन्छन् भने गोदियानीका सचिव अखिलेशचाहीँ प्रक्रिया र प्रविधिमा विश्वास राख्छन्। कामगर्ने तरिका भिन्नै भए पनि यी दुईले भोग्नु परेको समस्या भने उस्तै छ । राजनीतिक दलका प्रतिनिधिहरूको फरक अडान, गाउँका केही व्यक्ति र समुहबाट अनुचित सहयोगको दवाव आदिका कारण दुवै आजित छन्। नाटकमा अब के हुन्छ भन्ने थाहापाउन 'गाविसको कथा'को दोस्रो भाग सुन्नुहोस् ।
हामी नयाँ नाटक 'गाविसको कथा' लिएर आएका छौँ । तराई-मधेसको पृष्ठभूमिमा रेकर्ड गरिएको यस नाटकले स्थानीय प्रतिनिधिको अभावमा राष्ट्रभरका गाविसहरूले भोगिरहेको साझा पीडाको कथा बोकेको छ । सचिवहरूको भरमा चलेका गाविसहरूमा देखिने समस्यालाई हामीले दुई प्रतिनिधि सचिव- अखिलेश र विश्वनाथको रोचक प्रसंग मार्फत् दर्शाउने प्रयत्न गरेका छौँ । नाटक सुनेर हामीलाई प्रतिक्रिया पठाउनु होस्, हामी प्रतीक्षारत छौँ ।
गाउँमा लघुजलविद्युत बनाउन खोज्नेहरू र उनीहरूलाई काम गर्न बाधा गर्नेहरू बीचको द्वन्द्वले कथालाई नयाँ मोडमा ल्याएको छ। पावरहाउसका लागि कुलो खन्ने, पर्खाल बनाउने काम सकिए लगत्तै धनराजको इसारामा चक्रेका केटाहरूको समुहले रातारात कुलो भत्काउने प्रयास गरे। के अब गाउँलेले चक्रेको कर्तुत थाहा पाउलान् त? जान्नको लागि बिजुलीको कथाको पाँचौँ भाग सुन्नुहोस् ।
गाउँमा पावरहाउसको कुलो निर्माणका लागि आफ्नो जग्गा नदिने धनराजको अडान यथावतै छ । धनराजकै उक्साहटमा चक्रे र उसका साथीहरू लघुजलविद्युत निर्माण तथा उपभोक्ता समितिलाई घरधुरी रकम बुझाउनु हुँदैन भन्दै गाउँले भड्काउँदै छन् । समिति र धनराज बीचको जुहारी कहाँ सम्म पुग्ला ? थाहा पाउन ताप्लेजुङमा रेकर्ड गरिएको ‘बिजुलीको कथा’ को चौथो भाग सुन्नुहोस् ।