'मा-कसम' र गुच्चे बाल्यकाल

म हरेक दिन केही न केही गरिरहेको हुन्छु । मैले गर्ने साना कामको छुट्टै अर्थ नहोला । तर हरेक सानो काम मेरो दुरगामी सपना लक्षित छ । जसले मलाई ब्यस्त त बनाउँछ नै, सँगसँगै कहिलेकाही तनाव पनि बढाउँछ । तर कुनै समय यस्तो पनि थियो, जतिखेर न खास सपना थिए न त ठूला तनाव नै । 

मैले त्यस्ता दिनहरु ईटहरीमा बिताएँ । ईटहरीको कुरा गर्दा कसैलाई भ्रम नहोस् कि त्यहाँ मेरो घर थियो । मेरो घर सिकैचा ३, ताप्लेजुङ हो जहाँ अझै मोटरबाटो पुगेको छैन । धेरै चोटी रेडियोमा मैले ईटहरीको अनुभव बाड्दा कतिलाई मेरो घर ईटहरी नै हो भन्ने लागेको रहेछ । म ४७ सालमा त्यहाँ फुपुको घरमा बसेर पढेको थिएँ । 

खास भन्दा पढ्नमा उति रुची थिएन । सायद त्यो बेला सबै साथीहरु पढ्न भन्दा बढि खेल्नमै रुची राख्थे । के के खेल्यौं भन्ने अहिले सबै सम्झिन सक्दिनँ । तर सामन्यतया ती खेल दुई भागमा बाँड्न सकिन्थ्यो । यौटा खेल विशुद्ध शारीरिक परिश्रम हुने, अर्को चाहिँ हारजित संगै अलिअलि पैसाको पनि नाफा घाटा हुने खेल । धेरै शारीरिक ब्यायाम हुने खेलमा फुटबल थियो । राष्ट्र बैंकको तल्लोपट्टि साँझको पाँच बजेपछि भेला हुन्थ्यौं । खासमा त्यो फुटबल मैदानभन्दा पनि खाली जग्गा मात्र थियो र अति अव्यवस्थित थियो । त्यहाँ खेल्दा कति साथीको शिसाले खुट्टा काटेको सम्झना छ । मेरो सिसाले खुट्टा त काटेन तर बयरको काँडाले भने धेरै चोटी घोच्यो । अर्को सम्झन लायक खेल भनेको 'डन्डीबियो' थियो । यो खेलको सम्पुर्ण नियम त मैले बिर्सी पनि सकेँ । तर धेरै ठ्याक लगाए बियोले नाप्ने र थोरै ठ्याक लगाए डन्डीले नाप्ने चलन थियो । डन्डीको लम्बाई बियोको भन्दा दोब्बर हुन्थ्यो । जसमा सकेसम्म धेरै अंक ल्याउने प्रयास हुन्थ्यो । ती बेलाका मेरा साथीहरु कमल लिम्बू, किशोर सुब्बा, मनि लिम्बू, कर्ण सम्बाहाम्फे, रोहित शाह थिए । कमल र मनि दाजु भाई थिए ।

nepali kids old

एक दिन, अहिलेको धरान बस स्टेन्डनिर डन्डीबियो खेल्दै थियौं । कमल र मनि दुई भागमा बाँडिएका थिए । किन हो कुन्नि यी दुई दाजुभाई यौटै समुहमा विरलै खेल्थे । म मनिको समुहमा थिए । नम्बर लिनलाई वियोले भुईँ नापिरहेका थियौ । त्यो बेला छिटो छिटो नाप्ने निहुँमा मनिले नम्बर बढाएछ । कमलले पनि मनिले झेल गरेको थाहा पाईहाल्यो र फेरि नाप्न लगायो । तर मनिले मानेन । उसले फेरि नाप्न नमान्नुमा दईवटा कारण थिए; पहिलो आफुले झेल गरेर नम्बर बढाएको पत्ता लाग्ने । दोस्रो थियो त्यो छोटो वियोले एक-एक गरेर भुईँ नाप्दा ढाड दुख्थ्यो । 

'ल तँ नाप्छस् भने ठीक छ' मनिले केहीक्षणको विवादपछि कमललाई भन्यो । ऊ आफुले जालझेल गरेरको पत्ता लागे पनि आफ्नो दाजुको ढाड दुखोस् भन्ने चाहन्थ्यो । 

तर कमल दुख गर्न तयार थिएन । उसले फेरि अर्को अश्त्र प्रहार गर्यो र भन्यो 'आमाको कसम खाएर भन् त मैले झेली गरेको छैन भनेर'

आमाको नाम लिएर झुटो कसम खायो भने आमा मर्छिन् भन्ने विश्वास थियो । कुनै प्रमाण नजुट्दा हामी आमाको नामबाट कसम खुवाएर झुट पत्ता लगाउने प्रयास गर्थ्यौं । सायद कसैले कसैलाई आमाको नाममा कसम खुवाउन बाँकी राखिएन । थाहा छैन कतिले आमाको नाममा झुटो कसम खाए । ५१ सालपछि मैले भने झुटो कसम खाएँ किनभने त्यो बेला मेरी आमा बितिसकेकी थिइन् । 

'ल मा-कसम के गर्छस्?' मनिले यो बेला चलाखी देखायो 'मेरो आमा मर्दा तेरो चाहि बाँच्छ ?'

मनि र आफ्नो आमा एउटै भएकाले कमलले कसम खुवाउनमा जोड गरेन । हाम्रो जालझेल नै सदर भयो । त्यो बेला हामी सानातिना जालझेल गरिरहन्थ्यौं । तर यसको उदेश्य क्षणिक आनन्द लिनुभन्दा केही थिएन । अर्कोतिर अलि अलि पैसा नै घाटा हुने खेल पनि थिए । त्यसमा पनि अलि बढि चलेको थियो गुच्चा । यस खेलको विभिन्न तरिका भएपनि खेल्दा चाहिँ यौटाको गुच्चाले अर्कोको गुच्चालाई हिर्काउनै पर्थ्यो । उबेला गुच्चा खेल्दा हामीमाझ यौटा भनाइ प्रचलित थियो, 'हरायो फुट्यो नतिर्ने'

यसको अर्थ हुन्थ्यो, यौटाको गुच्चाले अर्काको गुच्चा हान्दा फुट्यो भने वा त्यो गुच्चा उछिट्टीएर  हरायो भने सट्टामा अर्को गुच्चा दिनु नपर्ने । यो खेल खेल्दा रिस उठेको साथीको गुच्चालाई कस्सेर प्रहार गरिन्थ्यो । ताकि उसको गुच्चा फुटोस् र घाटा लागोस् । 

यो मामलामा किशोर सुब्बा अगाडि थियो । उसले कहाँबाट हो कुन्नी गोरुको आँखा जत्रो ठुलो गुच्चा ल्याएको थियो । सामान्यतया ऊ पनि सानै गुच्चाले हान्थ्यो तर त्यो दिन कुनै साथीसंग अलि रिस उठेको छ र त्यसको गुच्चालाई हान्न पर्यो भने ठुलो गुच्चा निकाल्थ्यो । तर उसको ठुलो गुच्चाले सानो गुच्चा विरलै फुट्थ्यो । हामीले पनि गुच्चा किन्न जाँदा त्यस्तो ठुलो गुच्चा खोज्यौ तर कतै भेटेनौं । 

यसरी हामी सधै संगै खेल्ने साथीको नराम्रो पनि सोच्थ्यौं । तर यसले कुनै प्रतिशोध जन्माएको थिएन हामीमा । कहिलेकाही कुटाकुट पनि गर्थ्यौं तर पछि संगै खेल्थ्यौं । यो बेला कुनै खास उदेश्य र सपना थिएनन् । बस् बाल्यकाल र किशोरावस्थाले डाँडा काटेर नजाओस् । सँधै यसरि खेलिरहन पाइयोस् भनेर सोच्थेँ ।  

कसैको चाहनालाई थाम्न समय कहाँ स्थिर हुँदोरहेछ र ! म ५३ सालमा ताप्लेजुङ फर्कनु पर्यो । त्यहाँ फेरि मेरा दुःखका दिन सुरु भए । उमेरसँगै सपना बढ्दै गए । आजकल ईटहरी जाँदा ति साथीहरु बिरलै भेटिन्छन् । सायद उनीहरु पनि आफ्ना सपनाको सडक पछ्‌याउँदै ईटहरीभन्दा टाढा टाढा पुगेका छन् !